नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
संविधानसभा सदस्य,
एकीकृत नेकपा (माओवादी)
आठ वर्षो उमेरदेखि कमलरीका रूपमा जीवनयापन गर्दै आउनुभएकी सुकदैया चौधरीले आफू एक दिन संविधानसभा सदस्य बन्छु भनेर कहिले सोच्नुभएको थिएन । एकीकृत नेकपा (माओवादी) ले संविधानसभा सदस्यका लागि समानुपातिक तर्फाट आफ्नो नाम छानेपछि मात्रै उहाँले यसबारेमा जानकारी पाउनुभएको थियो । उक्त पदमा पुगिसकेपछि हाल उहाँ गरिब र पिछडिएको थारू समाजको लागि लड्नुका साथै नयाँ संविधान निर्माणमार्फ मुक्तकमैयालाई वास्तविकरूपमै मुक्त पार्ने प्रतिबद्धताका पतिबद्धताका साथ अगाडि बढिरहनुभएको छ ।
कैलाली जिल्लास्थित पथरैया गाउँमा रहेको कमैया बस्तीको एउटा गरिब परिवारमा २०३५ सालमा उहाँको जन्म भएको थियो । गाउँकै एक जमिनदारको घरमा कमलरीका रूपमा काम गर्दै उहाँ हर्कनुभएको हो । ती दिनहरूमा उहाँको जीवन एउटा दासीको जीवनभन्दा कम थिएन । सबैले खाएर बचेको खानेकुरामात्रै उहाँले खान पाउनुहुन्थ्यो । यसरी आफ्नो मालिकहरूको आदर गर्ने मात्रै नभई बेलाबेलामा उनीहरूले गर्ने गाली र शारीरिक दर्र्व्यवहार पनि उहाँले थुप्रै सहनुपथ्र्यो ।
त्यस्तो अमानवीय वातावरणमा बसेका कारणले स्वाभाविक रूपमै उहाँमा पनि क्रान्तिकारी स्वभाव विकसित हुँदै गयो । निकै धर्ैयका साथ आफ्नो दिनचर्या बिताइरहेका अन्य थारूहरूको तुलनामा उहाँको स्वभाव अलि भिन्न थियो । नौ-दस वर्षै उमेरमा आफ्नो मालिकसामु रिस पोखेकी सुकदैया ती दिन सम्झँदै भन्नहुन्छ, "उनीहरूले बचेकुचेको खानामात्रै मलाई दिन्थे । त्यसैले एक दिन सहन नसकेर मैले खानाको थाल नै उनीहरूको मुखमा फ्याँकिदिएँ ।" त्यतिबेला कमैया बस्तीमै सुकदैयाको उक्त कदम एक सनसनीपुर्ण घटनाका रूपमा चर्चित बनेको थियो ।
गाउँका जमिनदारले कमलरी र कमैयालाई आफ्नो दासीसरह व्यवहार गर्ने गर्थे । उहाँले पनि करिब तीन वर्षम्म कमलरीका रूपमा काम गर्नुभयो । जमिनदारले जे बोल्यो त्यही नै कानुन हुने उहाँको क्षेत्रमा कमलरीमाथि मालिकले गर्ने शारीरिक दर्र्व्यवहारका घटनालाई पनि सामान्यरूपमा लिइन्थ्यो । एक दिन कोठामा चिया पुर्याउन जाँदा उहाँको मालिकले पनि बलत्कारको प्रयास गरेको थियो । तर त्यस घटनाबाट उम्कन सफल सुकदैया आफूजस्तै हजारौ केटी यस्ता घटनाका सिकार भइरहेका र उनीहरूको आवाज सुनिदिने कोही नभएकामा चिन्तित हुनुहुन्छ । मालिकका यस्तै कैयौँ यातनालाई सहन नसकेर उहाँले त्यतिबेला आफ्नो काम नै छाड्नुभएको थियो ।
आफ्नो परिवारसँगै बस्दाको दिन पनि उहाँका लागि त्यति सहज थिएनन् । १२ वर्षै उमेरमा उहाँका आमाबुबाले विवाहका लागि कर गर्न थाले । उहाँलाई पत्तो नै नदिई बिहेको कुरोकानी छिनिसकेको थियो । बिहेका लागि एक हुल मान्छे आएको खबर सुनेर हर्न जानुभएकी सुकदैया आफ्ना विगत कोटयाउँदै भन्नुहुन्छ, "आमाले मलाई उनीहरू मेरै विवाहका लागि आएका हुन् भनेपछि म छानाबाट खसे सरह भएँ ।" उहाँका श्रीमान् उहाँभन्दा ११ वर्षजेठो हुनुहुन्थ्यो । त्यसैले विवाहको कैयौं वर्षम्म पनि उहाँ आफ्नो श्रीमान्सँग निकै डराउनुहुन्थ्यो । परिवारका अन्य सदस्यहरू पनि त्यस्तै निर्दयी थिए । विवाहलगत्तै सुकदैयाकी सासूले उहाँलाई अर्कै एक जमिनदारको घरमा कमलरीका रूपमा काम गर्न पठाइन् । त्यति सानै उमेरमा विवाह गर्नु भनेको उहाँका लागि एउटा डरलाग्दो सपना साकार भएसरह बन्यो । त्यसमा पनि नयाँं घर र त्यहाँका सदस्यले गर्ने व्यवहार सहन नसकेर उहाँले कति पटक भागेर परालको कुन्यू वा रूखमुनि बसेर कैयौँ रात बिताउनुभयो । आफ्नो जीवनमा आइपरेको दुःख सहन नसकेर विवाहको पाँच दिनमै उहाँले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गर्नुभएको थियो । तर मृत्युको मुखबाट पनि उम्केकी सुकदैया भन्नुहुन्छ, "अन्य नेपाली दिदीबहिनीले पनि संर्घष्ा गर्न नछाडून् भनेर मैले आफ्नो कहाँनी अरूलाई भन्नैपर्छ ।" तीन सन्तानकी आमा रहनुभएकी सुकदैयाले १५ वर्षो उमेरमा आफ्नो पहिलो छोरीलाई जन्म दिनुभएको थियो । एउटा छोरा पाउनै पर्छ भन्ने दबाब परिवारबाट आएका कारणले तीन सन्तान जन्माउनुभएकी सुकदैयाले छोराको जन्मपश्चात् नै कसैले थाह नपाउने गरी परिवार नियोजन गर्नुभएको थियो ।
बाल्यकालमा पढाइप्रति उहाँको अत्यधिक लगाव रहेको थियो । त्यसैले जमिनदारको छोराछोरीको किताब चोरीचोरी उहाँ आफ्नो रहर पूरा गर्नुहुन्थ्यो । फलस्वरूप उहाँको नेपाली भाषा पनि निकै राम्रो थियो । जबकि उहाँको समुदायमा अझै पनि प्रायः ले नेपाली भाषा बुझदैनन् । ठूलो भइञ्जेल पनि उहाँको पढ्ने इच्छा भने मरेन । त्यसैले उहाँ २०५५ सालमा आफ्नै गाउँमा सञ्चालित प्रौढ शिक्षामा सहभागी हुनुभयो । उहाँकी सासूले पढ्न जानका लागि अनुमति नदिए तापनि १० दिनसम्म उहाँले लुकिछिपी आफ्नो पढाइलाई निरन्तरता दिनुभयो । उक्त कक्षामा सबैले शिक्षकले पढाएको नेपाली भाषा नबुझने हुनाले उहाँले स्वयम्सेवकका रूपमा भाषा अनुवादकको काम पनि गर्नुभयो । यसरी १० दिनपछि नै पढाइलाई छाड्नु परे पनि आफ्नै स्वअध्ययनले गर्दा हिजोआज उहाँलाई लेखपढ गर्न कुनै कठिनाइ छैन ।
आफूले कर्जा लिएको जमिनदारको घरमा एक बधुवा मजदुरका रूपमा कमैयाले काम गर्नुपथ्र्यो । अनि कमैयाको छोरीहरूलाई पनि उनीहरूकै घरमा काम गर्नका लागि राखिन्थ्यो । जसलाई कमलरी भनिन्थ्यो । सरकारले २०५७ साल असारमा कमैया मुक्तिको घोषणा नगरुञ्जेल पश्चिमी तर्राईका कैलाली, दाङ, बाँके, बर्दिया र कञ्चनपुरमा यो प्रथा प्रचलनमा रहेको थियो । पहिलोपटक कमैया मुक्तिको समाचार जमिनदारकै घरमा बजेको रेडियोबाट सुनेपछि सुकदैयाले तुरुन्तै आफ्नो बस्तीमा गएर उक्त समाचार सबैलाई सुनाउनुभएको थियो ।
उक्त ऐतिहासिक घोषणा हुँदा वषातमौसम थियो । त्यसैले थुप्रै कमैयालाई यस्तो बेलामा मालिकको घर छाड्नुपरेमा कहाँ बस्ने र के खानेहोला भन्ने चिन्ताले सताउन थालिसकेको थियो । तर सुकदैयाले भने यसलाई आफूले निकै पहिलेदेखि कुरेर बसेको मुक्तिको सङ्केतका रूपमा लिनुभयो । त्यसपछि उहाँले कमैयाहरूलाई आफ्नो मालिकको घरबाट बाहिर निस्कन मद्दत गर्नुका साथै उनीहरूका लागि अस्थायी बसोबासको ब्यवस्था मिलाउने काममा पनि लागि पर्नुभयो । पूरै कमैया बस्तीका लागि उहाँ एक प्रेरणाको स्रोत बन्नुभयो । यहाँसम्म कि सुकदैयाले बेलगाडामा सबै सामान हालिदिएपछि मात्रै उहाँका श्रीमान् मालिकको घर छाड्न मान्नुभएको थियो ।
कमैया मुक्तिको तीन दिनपछि मात्रै सुकदैयाले पथरैयामा आफ्नो लागि एउटा बासको ब्यवस्था मिलाउनुभएको थियो । यसको केही समयपश्चात् उहाँले आफ्ना केही साथीहरूसँग मिलेर मुक्तकमैयाको पुनर्स्थापनाका लागि एक संस्था खोल्नुभयो । उक्त संस्थाले कमैयालाई जमिनदारको घरबाट मुक्त गराउनुका साथै उनीहरूलाई विभिन्न ठाउँमा पुनः बसोबासको बन्दोबस्तो मिलाइदिने काम गर्यो । सोही संस्थापछि गएर अन्य जिल्लामा पनि विस्तार गरिएको थियो ।
मुक्तकमैयाका लागि काम गर्नेक्रममा अन्जान व्यक्तिहरूबाट बेलाबेलामा उहाँलाई ज्यान मार्ने धम्की आइरहन्थ्यो । तर त्यस्ता घटनाले आफूलाई निरुत्साहित गर्न नसकेको बताउँदै उहाँ भन्नुहुन्छ, "म त कमैया मुक्तिको काममा अझै बढी खट्थेँ ।"
उहाँको विचारमा मुक्तकमैयाहरूले अझै पनि सामान्य जनतासरह जीवनयापन गर्न सकिरहेका छैनन् । जमिनदारको फन्दाबाट उम्किएपछि पनि उनीहरूले आफ्नो पुनः बसोबासको माग गर्दै राज्यसँग लड्नुपरेको छ । सरकारले पनि उनीहरूको माग पूरा गरिदिने आश्वासन बेलाबेलामा दिए पनि व्यवहारमा भने त्यो लागू गर्न सकेको छैन । कमैयाहरू मुक्त भए तापनि त्यो मुक्तिको खुसी उनीहरूले अझै अनुभव गर्न नसकेको सुकदैया बताउनुहुन्छ । व्यवस्थापनको कमीकमजोरीका कारणले गर्दा उनीहरू अझै पनि पीडित हुनु परेको स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ, "वष होस् या कठयाङ्ग्रिदो जाडो, उनीहरू खुला आकाशमुनि नै बस्न बाध्य छन् ।"
नेपालको जुनसुकै समुदायमा पनि महिला विभेदको सिकार हुने गरेका छन् । त्यसैले कमैया आन्दोलनभित्रको अर्को एउटा छुट्टै पाटो भनेको महिला आन्दोलन हो । यसका लागि उहाँहरूले 'कमैया महिला चेतना समाज' नामक एक संस्थाको पनि स्थापना गर्नुभएको छ । उक्त संस्थाले कमैया महिलाको समस्यामा केन्द्रित रहेर काम गर्ने गरेको छ । राज्यले थुप्रै कमैयाको आधिकारिकरूपमा पहिचान गरिसके तापनि अझै करिब ८० हजार कमलरीको पहिचान हुन नसकेको गुनासो उहाँ गर्नुहुन्छ । लैंगिक आधारमा राज्यले गरेको विभेदको यो एउटा नमुना हो भन्दै उहाँ अगाडि थप्नुहुन्छ, "काठमाडौँ उपत्यकामा मात्रै पनि मुक्त कमैयाका पाँचदेखि ६ हजार छोरी कमलरीका रूपमा अझै काम गरिरहेका छन् । त्यसैले यस्ता महिलामध्ये पढ्न चाहनेहरूका लागि राज्यले शिक्षाको ग्यारेन्टी दिनुपर्ने र सीप सिक्न चाहनेका लागि सीपमूलक तालिमको व्यवस्था मिलाई दिनुपर्ने उहाँको धारणा छ ।
मुखियाको घरमा काम गर्ने कतिपय कमैयाहरूले आफ्नो परिचयपत्र पाइसकेका छन् । तर सोही घरमा काम गर्ने महिला जसको श्रीमानको मृत्यु भएको छ, त्यस्ता महिलाले भने विधवा भएकै कारणले गर्दा परिचयपत्र पाएका छैनन् । त्यसैले समान कामका लागि समान ज्याला भन्ने माग पूरा नभएसम्म आफूहरू लडिरहने जानकारी सुकदैया दिनुहुन्छ ।
गरिब र सीमान्तकृत समुदायको सहभागिताले मात्रै दोस्रो जनआन्दोलन सफल भएको उहाँ दावी गर्नुहुन्छ । सोही आन्दोलनबाट प्रेरित हुँदै आफ्नो समुदायको मानिसलाई आफूसँगै लिएर अगाडि बढेकी सुकदैया संविधानसभामा आफ्नो प्रवेशमात्रै कमैया र महिला मुक्तिका लागि पर्याप्त नहुने बताउनुहुन्छ । राजालाई नारायणहिटी दरबारबाट निकालेर मात्रै नयाँ नेपाल निर्माण सम्भव नहुने र त्यसको लागि राज्यको हरेक संरचनामा सीमान्तकृत महिलाको सहभागिता ग्यारेन्टी गरिनुपर्नेमा उहाँ जोड दिनुहन्छ ।
कमैया समुदायका महिलामध्ये सम्भवतः कसैले पनि हाँसिल गर्न नसकेको लक्ष्य उहाँले हाँसिल गरेर देखाउनुभयो । उहाँले थुप्रै पीडा, निरुत्साह, शोषण र कठिनाइका बाबजुत पनि संविधानसभा सदस्यसम्मको यात्रा तय गर्नुभयो । जीवनमा कठिनाइको अनुभव गर्दै सफलता हात पार्ने महिलाहरूको नमुना पात्रमा उहाँ पनि पर्नुहुन्छ । सुकदैया जसका लागि पहिले काम गर्नुहुन्थ्यो त्यही जमिनदारले आज संविधानसभा सदस्यका रूपमा आफूलाई सम्मान गर्दा उहाँ निकै गौरवको अनुभूति गर्नुहुन्छ । तर यसको साथसाथै आफ्नो कर्मपथमा अन्य थुप्रै कठिनाइ पनि छन् भन्ने कुरा पनि उहाँले बुझिसक्नुभएको छ ।
संविधानसभामा राष्ट्रिय मुद्दामा बहस गर्ने थुप्रै सभासद् रहे तापनि केहीले मात्रै कमैया, कमलरीलगायतका विषयमा आवाज उठाउने गरेका छन् । उहाँ मुक्तकमैयाको प्रतिनिधिका रूपमा आफू परिचित हुन चाहनुहुन्छ । संविधानसभामा भएका सदस्यहरूले आ-आफ्नो समुदायको आवाजलाई उठाएमा मात्रै नयाँ बन्ने संविधान एक उत्कृष्ट संविधान हुने उहाँको विचार छ । उहाँ कमैया समुदायकै अर्की सभासद् शान्ति चौधरीसँग मिलेर नयाँ बन्ने संविधानमा मुक्तकमैयाको आवाज समेट्नुका साथ उनीहरूको मुक्तिको ग्यारेन्टी गर्ने काममा लागिरहनुभएको छ ।
उहाँ हाल संविधानसभाको बैठकमा उपस्थिति हुनुपर्ने कारणले गर्दा राजधानीमै बस्नुहुन्छ । तर समय मिल्नासाथ आफ्नो गाउँ पनि गइहाल्नुहुन्छ । सहरमै बस्दा पनि उहाँको अधिकांश समय आफ्ना समुदायका मानिसको समस्या समाधानका लागि सम्बन्धित मन्त्रीहरूसँग भेटघाटको समय मिलाइदिनमै बित्छ ।
उहाँ सम्पुर्ण नेपाली महिलालाई राजनीतिमा लाग्न सुझाव दिनुहुन्छ । राजनीतिमा महिला सहभागिता बढाउन र राज्यको हरेक निर्णयक तहसम्म दबाब दिनका लागि महिला राजनीतिमा लाग्नुपर्ने उहाँको तर्क छ । कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध भएर काम गरेको अनुभव उहाँसँग नभए पनि विभिन्न सामाजिक समस्यमा उहाँले गरेको कामले नै संविधानसभामा उहाँको उपस्थितिलाई अर्थपुर्ण तुल्याएको छ ।
आगामी दिनमा पनि आफूले वास्तविकरूपमा पीडित भएका व्यक्तिहरूका लागि आवाज उठाइरहने प्रतिबद्धता उहाँ गर्नुहुन्छ । यसका साथसाथै महिलालाई राजनीतिमा लाग्नका लागि एक आधार तयार पार्ने काममा पनि लाग्ने उहाँको विचार छ । महिला अधिकारको क्षेत्रमा काम गर्नुका साथै उहाँ महिलाका लागि एउटा त्यस्तो वातावरणको सिर्जना गर्न चाहनुहुन्छ जहाँ उनीहरूले आफ्नो अधिकारको अभ्यास गर्नुका साथै नेतृत्व गर्ने क्षमताको पनि विकास गर्न सक्नेछन् ।